कालोधनको गोलचक्करमा मदिरा, मुख र माल

1 month ago 61
विश्वमणि पोखरेल

मैथिली भाषामा देहात भनेको गाउँले परिवेश हो । सप्तरी कञ्चनरूप नगरपालिका, रूपनगरमा करिब दुई–तीन महिनाको बाक्लो आवतजावत र बसोबासले देहाती अवस्थालाई नजिकबाट अनुभव गर्ने अवसर मिल्यो । लामो समयदेखि ग्रामीणपनबाट वञ्चित तन, मन रमायो ।

देहाती समाजमा राजधानीको जस्तो कोलाहल छैन, प्रदूषित आकाश छैन, स्वच्छ हावाको बाहुल्य छ । रुख, बोट–बिरुवाको हरियाली, आँप, लिची झुलेका बगैँचाले मन लोभ्याउँछन् ।

सहर उन्मुख देहाती समाज यतिखेर कोरोना–भयले ग्रसित छ । देहातमा मैलो मास्क लगाउनेहरू धेरै भेटिन्छन् । रुघाखोकी र ज्वरो आएकाहरूमा कोरोनाले बास गरेकी त छैन भन्ने आङ्शका छ, भय छाएको छ समुदायमा । तर पिसिआर टेस्ट गराउने स्वास्थ्य–संस्था नजिक छैनन्, घोषित–अघोषित लक–डाउनको महामारीमा २५–३० किलोमिटर टाढा सदरमुकाममा बसेका प्रयोगशालाहरू सायद देहातीका लागि होइनन् ।

महामारीमा निषेधाज्ञाको उर्दी गर्ने स्थानीय तह नागरिकबाट दूर भएको छ । प्रदेश २ को राजधानी जनकपुर सबै देहातीका लागि नजिक छैन, सिंहदरबार बहुत दूरको बात भयो । त्यसमा पनि कोरोनाको कोकोहोलोमा राजधानी सत्ताको लडाइँमा रुमलिएको छ । भगवान् भरोसे जनताको दिनचर्या चलिरहेको छ ।

बिहान चियाको चुस्कीमा गलत भएकोमा पछुताउ गर्ने, साँझ दारु चढेपछि मुख चलाउने र मुख चल्दाचल्दै हात छोड्ने प्रवृति मौलाएको छ यतिबेला ।

त्यसो त बाहिर सतहमा कोरोनाको भय छोडेर देहात, शान्त छ, सौम्य छ । राष्ट्रिय राजनीतिको किचलो यहाँ छैन, छ त केवल सतहमा देखिने वडा, नगरस्तरका दलका नेताहरूबीच समन्वयको चर्को अभाव । एक किसिमको स्थायी विरोधीपन भेटिन्छ, प्रतिस्पर्धी दलका जिम्मेवारबीच ।

चोक, चौबाटो र चियापसलमा प्रधानमन्त्री केपी शर्मा ओली, माधव कमरेड, प्रचण्ड, शेरबहादुरहरू यसत बेला के–के गर्दै छन् र के गर्नुपर्ने हो ? त्यसको सम्पूर्ण फेहरिस्तसहितको प्रेसक्रिप्सन छ उनीहरूसँग । सिंहदरबार, बालुवाटार, बूढानीलकण्ठ, पेरिसडाँडा र मण्डिखाटारका वार्ता, बहससँग सामाजिक सञ्जाल र मिडियको पहुँचले जानकार छन्, टाढाबाठा देहातीहरू ।

यसबाहेक देहातको समाजलाई अहिले खास गरेर तीनखाले नव–संस्कृतिले गाँजेको अनुभव हुन्छ । मदिरा, माल र मुख । मदिराले कतिपय घर–परिवार उजाड बनाएको छ, समाजमा दिनहुँ झैझगडा र कलहको स्रोत बनेको छ । विशेषगरी युवाहरू बिग्रिएका छन्, मदिराको लतबाट । कोरोनालगायत महामारीले रोक्न, कम गर्न नसकेको दारुको चपेटामा गोपालवंशी यादवहरू समेत पिल्सिका छन् ।

भनिन्छ, महासागरले पनि त्यति मान्छे डुबाएको छैन, जति दारुले डुबाएको छ । जसै जमिनको मोल उकालोलाग्दो छ, तसै थोरबहुत जमिन हुनेहरू धानखेतलाई घडेरीमा टुक्रा पारेर दारुको नशामा डुब्दै छन् ।

एकदिन दारुले अररिएको ज्यान अरूले थाहा पाउलान् कि भन्ने सामान्य डरसहित पान चबाउँदै गरेको एक जना भतिज–पुस्ताका युवामा बाटोमा जम्काभेट भो ।

‘अङ्कल नमस्कार !’ मलाई देखेर संयमित, बडो होसियार भएर भतिजले भने ।

‘बाबू ठिक छ ?’ नमस्कारको औपचारिकता पूरा गर्दे मैले जिज्ञासा राखेँ ।

‘ठिकै छ …!’ आफू नलर्बरिएझैँ देखाउन खोज्दै भतिजले भने । र बिरलोको पन्जाबाट उम्किन सफल मुसाजस्तै भतिज चाँडो–चाँडो पाइला सार्न लागे ।

म मुसुमुसु हाँसेँ मात्र । बाँकी सवाल–जबाफ आवश्यक थिएन । देहातमा नियमित आकस्मिकता हुन् यस्ता घटना ।

‘न्याय’मा जात, समुदाय र राजनीति सबैको रसायन मिसिएको हुँदो रहेछ ।

यादव बस्तीका मुखमा भट्टीहरूको मालामाल व्यापारले समुदायको सामाजिक साङ्लो चुँडिदै गएको अनुभव गराउँछ । दारुबाट सबैभन्दा बढी पीडित युवाका यौवना पत्नी र छोराछोरी बनेका छन् । सामान्यतया दरुवाहरू सगोल परिवार छोडेर अलग्गै बसेको देखिन्छ ।

हिजो दारु वर्जित समुदाय यतिबेला दारुको पीडा भोग्न बाध्य छ भने दारुलाई चियासरह ठान्ने समाजमा पनि यसले कुटपिटको स्थितिमा दिनहुँ पु¥याइरहेको छ । भर्खरैको एउटा घटना यहाँ उल्लेख्य छ ।

एक जना भुजेल केटाले सरदार केटी भगाएछन् । रुमानी जोडी गाउँ छोडेर बेपत्ता भयो । यता केटाका बाबु–आमाले नाहकमा कुटाइ खाए । जातीय द्वन्द्व छँदै थियो, कुटपिटसम्मको घटना पछाडिको प्रमुख कारण दारु नै थियो । निकैर चलेको कुटपिट भैmझगडा राति अबेला प्रहरीले स्थिति नियन्त्रण लियो ।

भोलिपल्ट, प्रभातकालमा दारुको नशा उत्रिँदै गयो, युवाहरूमा चेत खुल्यो । आफ्नै पडोसीमा पो हातपात गरिएछ भन्ने पछुताउ भयो । बिहान चियाको चुस्कीमा गलत भएकोमा पछुताउ गर्ने र साँझ दारु चढेपछि मुख चलाउने र मुख चल्दाचल्दै हात छोड्ने प्रवृति मौलाएको छ यतिबेला ।

देहातमा सामान्यजस्तै छन्, यस्ता घटना । स्थानीय विवादमा पञ्च–भलादमीहरू मानिएकाहरू नै विवादित पक्षसँगै आपसमा विभाजित भइदिन्छन् । न्याय, अन्यायको छिनोफानो हुँदैन, कसले खुलेर कसको पक्ष लियो भन्ने कुराले प्राथमिकता पाउँछ । ‘न्याय’मा जात, समुदाय र राजनीति सबैको रसायन मिसिएको हुँदो रहेछ ।

कतिपय जनप्रतिनिधिहरू स्वयम् दारु नलगाई हस्ताक्षर गर्न नसक्ने अवस्थामा भेटिन्छन् । जनताको मत र विश्वासको मानमर्दन गर्न सक्रिय उनीहरू विकासका कुरा गर्न भने पछि पर्दैनन् । कारण जनतालाई विकास चाहिएको छ, जनप्रतिनिधिलाई विकास बजेट नभए दानापाना हरिने चिन्ताले सताएको छ । माग र आपूर्तिको यो चक्र आफ्नै गतिमा चलिरहेको छ देहातमा ।

स्थानीयस्तरमा माल खानु भनिन्छ, सरकारी राज्यकोष रित्याउनुलाई । दारु खाने र दारु खाँदै नखाने सबै जिम्मेवारहरू मालप्रति भने समान आशक्त भेटिन्छन् । आशक्ति यतिधेरै छ कि शब्दमा बयान गर्न सकिन्न ।

किसानका लालपुर्जा सबै बैङ्कमा छन् । विकासमा नाममा बर्सेनि उल्लेख्य बजेट खर्च भएको सुनिन्छ । तर देखिने खालको विकास भएको देखिँदैन । बैङ्कको लगानीले उद्यम–व्यवसाय फस्टाएको पनि भेटिँदैन । दैनिक हातमुख जोर्ने उद्यमभन्दा धेरै पर जान नसकेको समाजमा पछौटोपनले राज गरेको छ ।

सरकारी बजेटका काम हुनेबित्तिकै काम कस्तो भयो होइन, कसले कति खायो, कसले कति पायो भन्ने टीका–टिप्पणी चल्छ, गाउँमा । उपभोक्ताबाट काम गराउने सरकारी नीतिले स्थानीय तहमै भ्रष्टाचारको लहरो फैलिन सजिलो भएको देखिन्छ ।

ठूलाखालका योजनाहरू जो उपभोक्ताको नाममा सम्पन्न गरिन्छन्, त्यसको बेग्लै कहानी छ । उपभोक्ता समितिले राजनीतिक सोर्सफोर्ससहित काम हात पारेर अघोषित रूपमा ठेकेदारलाई जिम्मा दिन्छन् । ठेकेदारले उपभोक्ता समितिबाट खाली चेक माग्छन् । आपसी सहमतिमा सबै काम हुन्छन् ।

दारु खाने र दारु खाँदै नखाने सबै जिम्मेवारहरू मालप्रति भने समान आशक्त भेटिन्छन् । आशक्ति यतिधेरै छ कि शब्दमा बयान गर्न सकिन्न ।

ठेकेदारले सरकारी कर्मचारी मिलाउने, स्थानीय बाहुबलीहरूको सम्बोधन गर्ने र उपभोक्ता समितिको नरमकरम मिलाएर चित्त बुझाउने काम गर्छन् । यसरी छुट्याएर आफ्नो भाग काटेपछि बांँकी रहेको पैसा आयोजनामा लाग्दो रहेछ । यस्ता विकासे मोडलले भौतिक सम्बृद्धि कति गरिहेको छ, त्यसको तथ्याङ्क अद्यावधिक हुँदै होला, सम्बन्धित मन्त्रालयहरूमा । यता, माल खुलेआम लुटले समाजमा नैतिक मूल्यको यतिधेरै अवमूल्यन भएको छ, जसको लेखाजोखा राख्ने आवश्यकता बोध भएको देखिँदैन ।

ठूलो लगानी गरेर निर्वाचन जितेकाहरूमा भएको लगानी असुल गर्ने र आगामी चुनावका लागि कमाउने हतारो देखिन्छ । विकासका योजनाहरू उनीहरूको आर्थिक तृष्णा पूरा गर्ने मुख्य साधन बनेका छन् । कागजमा स्थानीय सरकार, गाउँको सिंहदरबार जे भने पनि व्यवहारमा अधिकतर स्थानीय निकाय जनताबाट कर असुल्न र लुट्न सिर्जित निकायजस्तै प्रतीत हुन्छन् ।

नेपाली नागरिकले नागरिकताको प्रमाणपत्र लिन सबैखाले कागजात पुर्‍याए पनि इलाका प्रशासनले प्रहरी–प्रतिवेदनको अल्झो लगाउँछ, माल दिन नसक्ने निमुखालाई । प्रहरी कार्यालयले सरजमिनका लागि त्यो देहातीलाई आदेश दिन्छ, गाउँका पाँच जना मानिसलाई नागरिकतासहित थाना लिएर आउनू ।

सबै देहातीले थाना पुगेर आआफ्नो सही छाप गरिदिएपछि पुलिसले एउटा पत्र दिन्छ । त्यसमा लेखिएको हुन्छ— ‘… गाउँ, टोल पुगेर स्थलगत सरजमिन गर्दा निज नेपाली नागरिक भएको स्थानीय समाजसेवी, बुद्धिजीवीहरूले बताएको जानकारी गराइन्छ ।’

कुरो घुमाइफिराइ उही हुन्छ । तर सुरुमा स्थानीय तहले प्रमाणसहित गरेको सिफारिसलाई इलाका प्रशासनले अर्थात छोटे सिडियोले लत्याउँछ । हामी एकीकृत राज्य–प्रणालीमा छौँ कि सङ्घीय ? लोकतान्त्रिक गणतन्त्रात्मक देशमा छौँ कि एकल अधिराज्य ? यकिन गर्न गाह्रो हुन्छ देहातमा ।

देहातमा, जमिन हुने किसानका प्रायः लालपुर्जा बैङ्कमा छन् । लालपुर्जा नहुने र बैङ्कमा पहुँच नभएकाहरूका लागि टोलपिच्छै थैलेहरू छन् । चर्को ब्याज लिनेहरूको ब्याजदर सस्तोजस्तै सुनिन्छ, एक प्रतिशत, दुई प्रतिशत । साँवा–ब्याजको अर्थतन्त्रको तराजुमा एक–दुई प्रतिशत ब्याज निकै आकर्षक हो । तर यहाँका साहुहरू एक लाखको एक दिनमा एक हजार लिन्छन् ।

सोझो हिसाबले एक लाख ऋण लियो भने दैनिक एक हजारको दरले महिनाको ३० हजार रुपियाँ भयो । बैङ्कमा जमिन धितो राखेर सस्तो ब्याजमा पैसा लिने र हजारीया ब्याजमा काम चलाउनेहरू जताततै भेटिन्छन् । चक्रवृत्ति ब्याज अर्थात् ब्याजको स्याजको गोलचक्कर त आफ्नो ठाउँमा छँदै छ ।

किस्ता लगाउने चलन पनि ब्यापक छ देहातमा । एक जना किस्तावालीका अनुसार एक लाख रुपियाँ किस्तामा लिइयो भने लिनेले एक वर्षसम्म महिनाको १४ हजार रुपियाँ किस्ता बुझाउनुपर्छ र उपरमा २५ हजार थप्नुपर्छ । एक लाख रुपियाँ लगानीबाट एक वर्षमा झन्डै दोब्बर (एक लाख ९३ हजार) आम्दानी हुन्छ । देहातमा जमेको यस्तो अर्थतन्त्रको हिसाब केलाउन सायद राष्ट्र बैङ्क सक्षम छैन, कारण मुलुककै अर्थतन्त्रको आधा हिस्सा यस्तै कालोधनबाट चलेको बुझिन्छ ।

यावत् विकृति र पीडाहरूबीच सहर र सिंहदरबारको तुलनामा अझै पनि देहात शान्त छ । सरल, सौम्य र प्राकृत छ ।

Original Story