च्याम्पियन्स लिग छनोट : जोखिममा ठूला क्लबहरू

1 month ago 46
Neuro
 जोखिममा ठूला क्लबहरू

विराटनगर / यस सिजन युरोपियन च्याम्पियन्स लिग छनोटका लागि केही ठूला क्लबहरू सङ्घर्षरत देखिएका छन् । त्यसमध्ये लिभरपुल र युभेन्टसजस्ता ठूला क्लबले च्याम्पियन्स लिगमा छनोट नहुने जोखिममा पनि छन् ।

लिभरपुल प्रिमियर लिगको अघिल्लो सिजनको विजेतासमेत हो । तर यस सिजन लिभरपुल छैटौँ स्थानमा छ । सुरुआतमा राम्रै गरे पनि सिजनको अन्त्यतिर ऊ शीर्ष चारका लागि सङ्घर्षरत छ ।

प्रिमियर लिगको उपाधि छिनोफानो भइसकेको छ । शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले उपाधि पक्का गरिसक्दा म्यानचेस्टर युनाइटेड दोस्रो, लेइस्टर सिटी तेस्रो तथा चेल्सी चौथो स्थानमा छ । त्यसपछि पाँचौँ स्थानमा वेस्ट ह्याम रहँदा चार खेल खेल्न बाँकी रहेको लिभरपुल छैटौँ स्थानमा छ ।

जर्गेन क्लोप नेतृत्वको लिभरपुलको शीर्ष चारको सम्भावना जीवितै छ । तर पनि ऊभन्दा माथि रहेका अरू टिमले जितको यात्रा कायमै राखेमा लिभरपुल युरोपा लिगतिर चिप्लिने जोखिममा छ ।

यता, इटालियन महारथी क्लब युभेन्टस पनि यो सिजन युरोपका लागि सङ्घर्षरत छ । नाटकीय रूपमा इन्टर मिलानले सिरी ‘ए’को उपाधि उचालिसकेको छ । तर सिजनको सुरुआततिर अगाडि रहेको युभेन्टस अन्त्यतिर आइसक्दा पाँचौँ स्थानमा छ ।

इन्टर मिलान, नापोली, अटलान्टा र एसी मिलानले साविक विजेतासमेत रहेको युभेन्टसलाई पाँचौँ स्थानमै छोडेर अगाडि बढिरहेका छन् ।

यसैगरी जर्मन बुन्डेसलिगातर्फ बोरुसिया डर्टमुण्डको हालत उस्तै छ । साविकको उपविजेतासमेत रहेको उसले पनि शीर्ष चारका लडाइँ गरिरहेको अवस्था छ । हाल ऊ शीर्ष चारमै छ तर एक अङ्कले मात्र फ्रान्कफर्टले उसलाई उछिन्न सक्ने देखिएको छ । लिगको उपाधि धने बायर्न म्युनिखले जितिसकेकाे छ ।

फ्रेन्च लिग वानतिर भने पिएसजी जोखिममा छ । ऊ दोस्रो स्थानमा रहेका कारण त्यति धेरै खतरामा भने छैन । लिग वानमा शीर्ष स्थानमा लिले छ भने तेस्रो तथा चाैथाे स्थानमा क्रमशः मोनाको र लियोन छन् ।

jackson ribon
Original Story