तीन दिनभित्र कोरोना बीमा भुक्तानी गर्न अर्थ मन्त्रालयको निर्देशन

1 month ago 74

काठमाडौं÷ अर्थ मन्त्रालयले बीमा समितिलाई कोरोना बीमाको दाबी भुक्तानी तीन दिनभित्र गरिसक्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । मन्त्रालयले पछिल्ला दिनमा कोरोना बीमा दाबी भुक्तानीमा अन्योल सिर्जना भएको तथा बीमकले सास्ती झेल्नुपरेको भन्दै कोरोना बीमा मापदण्डबमोजिम प्रक्रिया तथा कागजात पूरा भएका दाबीको भुक्तानी तीन दिनभित्र दिन निर्देशन दिएको हो ।

मन्त्रालयले बीमा समितिलाई पत्र लेख्दै बीमा दाबी भुक्तानी गरेको विवरण दैनिकरूपमा जानकारी गराउन पनि निर्देशन दिएको छ । भेरिफिकेशन गर्न बाँकी दाबीको भेरीफिकेशन यथाशीघ्र सम्पन्न गरी भुक्तानी दिने व्यवस्था मिलाउन पनि मन्त्रालयले निर्देश गरेको छ ।

मन्त्रालयले कोरोना बीमाको हालसम्मको दाबी सङ्ख्या, कागजात पूरा भएका दाबी सङ्ख्या, भेरीफिकेशनका लागि स्वास्थ सेवा विभागमा पठाएको सङ्ख्या, भेरीफिकेशन नभएका वा नक्कली दाबीको विवरण र दाबी भुक्तानीको विवरण तथा सबै कागजात पूरा भई भुक्तानी गर्न बाँकीको विवरण नियमित सार्वजनिक गर्न पनि निर्देशन दिएको छ ।

दाबी भुक्तानीमा देखिएका समस्या, भुक्तानी गर्न बाँकी विवरण र समस्या समाधानका लागि बीमा समितिबाट भइरहेको प्रयासका बारेमा पनि जानकारी गराउन भनिएको मन्त्रालयका उपसचिव गोविन्दप्रसाद सुवेदीले जानकारी दिए । रासस

Original Story