निषेधाज्ञाले विपन्न वर्गको दैनिकी कष्ठकर बन्दै

1 month ago 46
  • मोहन ढकाल / विराटनगर

विराटनगर सरोचियाका विनोद उराँव ३३ वर्षदेखि जुत्ताचप्पल सिलाउने व्यवसाय गरेर परिवार चलाउँदै आएका छन् । गतवर्ष पनि लामो समयको लकडाउनका कारण दैनिक गुजारामा समस्या भोगेका उराँव यसपटकको निषेधाज्ञामा पनि दैनिक गुजारामा समस्या भएको बताउँछन् । ट्राफिक चोकमा बसेर जुत्ताचप्पल सिलाउँदै आएका उराँव निषेधाज्ञा सुरु भएपछि नौ दिन घरमै बसे । तर, दैनिक गुजारा गर्न समस्या भएपछि हिजोबाट फेरि काममा निक्लिन थालेका छन् । तर निषेधाज्ञाका कारण दिनभरि बस्दासमेत एक सय आम्दानी नभएको उनले बताए ।

सामान्य अवस्थामा सात जनाको परिवार राम्ररी चलेको बताउँदै उनले भने, ‘निषेधाज्ञा सुरु भएपछि केही दिन घरमा नै बसेँ, तर बिहानबेलुकाको छाक टार्न समस्या भएपछि आएर बसेको छु, आम्दानी भने शून्य छ ।’ आफू भोकै बसेर भए पनि बालबच्चालाई दुई छाक खुवाउनु नै पर्‍यो उनले भने ।

सरोचियाकै रामआशिष राम पनि लामो समयदेखि ट्राफिक चोकमा बसेर जुत्ताचप्पल सिलाउने काम गर्छन् । गतवर्षको लकडाउका कारण भोगेका समस्या बिर्सन नपाउँदै पुनः निषेधाज्ञा सुरु भएपछि अबका दिनमा कसरी बिहानबेलुकाको छाक टार्ने भन्ने पिरलो थपिएको रामले सुनाए । रामको छ जनाको परिवार छ । सामान्य अवस्थामा यही पेसाबाट घरव्यवहार र छोराछोरी पढाउन पुगेको सुनाउँदै रामले भने, ‘यस्तै हो भने भोकै बस्नुपर्ने अवस्था आउन लाग्यो, निषेधाज्ञा भएपछि आठ–नौ दिन घरमै बसेँ, तर, बिहानबेलुकाको छाक टार्न समस्या भएपछि हिजोबाट काम सुरु गरेको हुँ, तीन बजेसम्म बोहनी भएको छैन ।’

कटहरी–१ की फूलोदेवी साह ठेलामा फलफूल बेचेर परिवार चलाउँदै आएकी थिइन् । ३० वर्षदेखि हटियामा गएर फलफूल बेच्ने साह निषेधाज्ञासँगै घरमा नै बसेकी थिइन् । बिहानबेलुकाको छाक टार्न समस्या भएपछि उनी मङ्गलबारबाट ठेला लिएर निक्लिएकी छन् । तर, कतै प्रहरीले दुःख दिने गरेको बताउँदै उनले भनिन्, ‘सामान्य अवस्थामा यही व्यवसायबाट छोराछोरी पढाउन र घरव्यवहार चलाउन पुग्ने गरेको थियो, तर अहिले बिहानबेलुकाको छाक कसरी टार्ने भन्ने चिन्ता थपिएको छ ।’

विराटनगर मधुमाराकी सरस्वती सहनी मकै बेचेर दुई छोराछोरीको पढाइसँगै परिवार चलाउँदै आएकी थिइन । उनले आठ वर्षदेखि मकै र सब्जी बेच्दै जीविकोपार्जन गर्दै आएकी छन् । तर निषेधाज्ञाका कारण अहिले बिहानबेलुकाको छाक टार्नसमेत समस्या भएको उनले बताइन् ।

Original Story