सामान्य काममा समेत ध्यान केन्द्रित गर्न नसक्नुका चार कारण

1 week ago 16

विराटनगर / कुनै पनि काम समयमै सफलतापूर्वक पूर्ण गर्नका लागि फोकस (ध्यान केन्द्रित) गर्नुपर्ने हुन्छ ।

आफ्नो कामका बारेमा धेरै अनुभव भए पनि गर्नुपर्ने कार्यका बारे सचेत हुँदाहुँदै पनि ध्यान केन्द्रित नभएका कारण उक्त काम कुशलतासाथ पूरा रुपमा गर्न असफल हुन सकिन्छ । ध्यान दिएर पूरा गरिएको काम र सोचविचार नगरी समाप्त गर्ने कामबीच धेरै भिन्नता हुने गर्छ । सही तरिकाले फोकस गर्नाले काम समयमा र राम्रोसँग हुने गर्छ ।

ध्यान दिन असमर्थ हुनाले अत्यधिक कोसिस गरे पनि उपलब्धिमा कमी ल्याउने, काम झनै बढ्दै जाने र काम राम्रो नभएका कारण मानिसलाई निरास बनाउन सक्छ । त्यस्ता अवस्थाहरूमा, ध्यान केन्द्रित गर्न नसक्नुको कारण पत्ता लगाउनु एकदम महत्त्वपूर्ण हुन्छ । कारण पत्ता लागेपछि ध्यान केन्द्रित गर्न सजिलो हुन्छ वा केही उपाय खोज्न सकिन्छ । ध्यान केन्द्रित गर्न नसक्नुका यी चार कारण हुन सक्छन् :

निद्राको कमी : कहिलेकाहीँ धेरै कामको बोझले वा अन्य कुनै कारणले निद्रामा गडबडी आउन सक्छ । पर्याप्त निद्रा नपाएका कारण मस्तिष्क आराम गर्न असमर्थ हुन्छ । आरामविना मस्तिष्क पूर्ण क्षमतामा काम गर्न सक्दैन, जसले थकान र मन अशान्त हुनेजस्ता केही लक्षण निम्त्याउन सक्छ । यसले हाम्रो ध्यान केन्द्रित गर्ने क्षमतालाई पनि असर गर्न सक्छ र फलस्वरूप गरिरहेको काम राम्रोसँग पूर्ण गर्न सकिँदैन ।

एकैपटक धेरैवटा काम एकै समयमा गर्नाले : मल्टिटास्किङ अर्थात् एकैपटक धेरैवटा काम एकै समयमा गर्नाले मानसिक उर्जा विभाजित हुन्छ । जसले कुनै एक काममा प्राथमिकता दिन गाह्रो हुन्छ र एउटा काममा मज्जाले ध्यान केन्द्रित गर्न सकिँदैन । पूरा ध्यान एक चीजमा समर्पित गर्न असमर्थ हुँदा एउटा मात्र नभई एकै पटक गरिरहेको सबै काम पूरा गर्न ढिलाइ हुनुका साथै काम राम्रो नहुन सक्छ ।

ध्यान भङ्ग गर्ने वातावरण : काम गर्दा टिभी हेर्ने, हरेक पाँच मिनेटमा फोन बज्दा वा अन्य केही कारणले ध्यान केन्द्रित गर्न गाह्रो हुनसक्छ । निरन्तर केही अवरोध गर्ने कुरा छ भने जतिसुकै प्रयास गरे पनि काममा आफ्नो ध्यान दिन सकिँदैन । त्यसैले काम गर्दा कुनै पनि प्रकारको ध्यान भङ्ग गर्ने वातावरणबाट मुक्त भएको स्थान खोज्ने वा बनाउने गर्नुपर्छ ।

मानसिक स्वास्थ्य समस्या भएमा : सही वातावरणमा बसेर, पर्याप्त निन्द्रा पाउँदा वा ध्यान केन्द्रित गर्न सबै कुरा प्रयास गर्दा पनि केही भएको छैन भने समस्या थप गम्भीर भएको हुन्छ । डर, उदासीनता, मुड परिवर्तन र नकारात्मक भावनाका कारण ध्यानको अभाव भएको छ भने यो मानसिक समस्यासँग जोडिएको बुझिन्छ । यस्तो समयमा चिकित्सकलाई भेट्न जरुरी हुन्छ । मानसिक समस्या काम हुन थालेपछि ध्यानमा सुधार भएको देख्न सकिन्छ ।

Original Story