होम आइसोलेसनमा पल्स अक्सिमिटर प्रयोग गर्न सुझाव

1 month ago 117

विराटनगर / होम आइसोलेसन बसेका सङ्क्रमितलाई शरीरमा अक्सिजनको मात्रा नाप्नका लागि पल्स अक्सिमिटरको प्रयोग गर्न सल्लाह दिइएको छ ।

नेपालमा तीव्र गतिमा कोरोना भाइरसको सङ्क्रमण फैलिरहँदा अस्पतालमा आइसियू, भेन्टिलेटर र अक्सिजन चाहिने बिरामीको सङ्ख्या पनि बढ्दो छ । कोरोना भाइरसको सङ्क्रमण गम्भीर हुँदा फोक्सोमा सङ्क्रमण भई बिरामीलाई सास फेर्न गाह्रो हुने, शरीरमा अक्सिजनको मात्रा घट्ने हुनसक्छ ।

जसकारण घर बसेका सङ्क्रमितले आफ्नो शरीरमा भएको अक्सिजनको गति नाप्न बजारबाट सजिलै पल्स अक्सिमिटर नामक उपकरण किनेर प्रयोग गर्न सक्छन् । विराटनगरस्थित न्यूरो कार्डियो एन्ड मल्टी स्पेसालिटी हस्पिटलका जनरल फिजिसियन डा. एमएस अनसारी कोभिडको बिरामी सबैको अक्सिजनको मात्रा घट्ने वा अक्सिजन दिनु नपर्ने बताउँछन् ।

तर, धेरैजसो सङ्क्रमितमा निमोनिया देखिएमा, सङ्क्रमण गम्भीर हुन थालेमा, सास फेर्न गाह्रो भएमा अक्सिजको स्तर कम भएको हुनसक्छ । नयाँ भेरियन्टका कोरोना भाइरसको कारण भएको सङ्क्रमण पहिलेको तुलनामा छिटो र युवा उमेर समूहका मानिससमेत गम्भीर हुन सक्छन् ।

तर, अन्य सङ्क्रमितको तुलनामा वृद्ध, मधुमेह, रक्तचाप, मिर्गौलाको समस्या, मुटुको समस्या, दम, क्षयरोग, पहिलादेखि नै श्वासप्रश्वासमा समस्या भएका वा दीर्घरोग भएका बिरामीमा अक्सिजनको स्तर घट्ने सम्भावना धेरै रहन्छ । समुदायमा सङ्क्रमण फैलिएका कारण सङ्क्रमितको सङ्ख्या बढेसँगै होम आइसोलेसनमा बस्ने बिरामीको सङ्ख्या पनि बढिरहेको छ ।

त्यसैले, होम आइसोलेसन बसेका सङ्क्रमितलाई अक्सिजनको गति नाप्न पल्स अक्सिमिटरको प्रयोग गर्न सल्लाह दिइएको छ । पल्स अक्सिमिटरको प्रयोग गरे पनि शरीरमा कति मात्रामा अक्सिजन भए चिन्ता गर्नुपर्ने भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । फोक्सोबाट शरीरका कोशिकामा वितरण भइरहेको अक्सिजनको मात्रा नै रगतमा अक्सिजन स्तर हो ।

रगतमा अक्सिजनको स्तर एक स्वस्थ व्यक्तिको औसत स्तरको तुलनामा धेरै कम हुँदा यसलाई हाइपोक्सेमिया भनिन्छ । र, यस्तो समयमा शरीरलाई कोष, टिस्यु तथा अङ्गमा अक्सिजन पु¥याउन गाह्रो हुन्छ । शरीरमा अक्सिजनको मात्रा कम भएको अवस्था घातकसमेत हुनसक्ने हुँदा घरमा बसेका सङ्क्रमितले पल्स अक्सिमिटरको सहयताले घरमै अक्सिजन स्तर निगरानी गर्न र अवस्था गम्भीर हुनु अगाडि नै पहिचान गरी उपचार प्राप्त गर्न सक्छन् ।

अक्सिमिटरलाई औँलामा च्यापेर क्लिप थिचेको केही सेकेन्डमा यसले नतिजा दिन्छ । नतिजाले रगतमा भएको अक्सिजनको प्रतिशत देखाउँछ, जसलाई एसपिओ २ स्तर भनिन्छ । अक्सिमेटरले मुटुको दर पनि देखाउँछ । अक्सिमिटरको माध्यमबाट जाँच गर्दा प्रायः स्वस्थ व्यक्तिमा सामान्य अक्सिजनको स्तर ९५ प्रतिशत वा सोभन्दा बढी हुन्छ । तर, अक्सिजनको मात्रा ९० प्रतिशत वा सोभन्दा कम भए तुरून्त डाक्टरको परामर्श लिनुपर्ने हुन्छ ।

बिरामीको शरीरमा अक्सिजनको मात्रा कम हुँदा सास बढ्ने, स्वाँस्वाँ हुने, सास फेर्न गाह्रो हुने, मुटुको चाल बढ्ने, छाती दुख्ने, कमजोरी हुने वा रिँगटा लाग्नेजस्ता सङ्केत देखिन सक्छ । श्वासप्रश्वासमा समस्या भएपछि उपचार नपाएको कारण सङ्क्रमितको ज्यान जोखिममा पर्न सक्छ । सङ्क्रमणका कारण सास फेर्न समस्या देखिएपछि अक्सिजनको स्तर घटेपछि सङ्क्रमितलाई तुरुन्तै अस्पताल पुर्‍याउनु पर्ने हुन्छ ।

Original Story